गभर्नर नियुक्ति प्रक्रियामाथि सांसद सिंहको कटाक्ष : “लाज पनि लजाइसक्यो, सरकार भने अझै लजाउँदैन”

गभर्नर नियुक्ति प्रक्रियामाथि सांसद सिंहको कटाक्ष : “लाज पनि लजाइसक्यो, सरकार भने अझै लजाउँदैन”

काठमाडौं। स्वतन्त्र सांसद अमेरशकुमार सिंहले गभर्नर नियुक्तिको प्रक्रिया प्रति तीव्र असन्तुष्टि जनाएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गभर्नर नियुक्तिको शैली हेर्दा ‘लाज पनि लजाइसकेको’ तर सरकार अझै नलजाएको टिप्पणी गरे।

सिंहले राजनीतिक दलको सदस्य गभर्नर बन्न नहुने राष्ट्र बैंक ऐनको प्रावधानको स्मरण गराउँदै चुनाव लड्ने व्यक्ति आफैं राजनीतिक दलको सदस्य हुने भएकाले गभर्नरका लागि उपयुक्त नहुने बताए। “चुनाव लड्नेभन्दा आधिकारिक राजनीतिक सदस्य कस्तो हुन्छ भन्ने मैले बुझ्न सकेको छैन,” उनले प्रश्न गरे।

उनले गभर्नरजस्तो संवैधानिक र जिम्मेवार पदमा दलका कार्यकर्ता खोज्ने प्रवृत्ति खतरनाक भएको टिप्पणी गरे। “राष्ट्र बैंकमा कोही विज्ञ छैन? विज्ञलाई नियुक्त गर्न हुँदैन?” उनले आक्रोश प्रकट गर्दै भने, “हरेक ठाउँमा कार्यकर्ता भर्ने संस्कार गलत हो।”

सिंहले अदालत, अख्तियार र लोकसेवाजस्ता संस्थामा समेत पार्टीका कार्यकर्तामै भर पर्ने प्रवृत्तिप्रति आपत्ति जनाए।

उनले राष्ट्र बैंककी वर्तमान डेपुटी गभर्नरलाई योग्य मान्दै, “महिला भएकाले गभर्नर बनाउन नहुने?” भन्ने प्रश्न पनि उठाए।

साथै, गभर्नर नियुक्तिमा सिफारिस समितिको भूमिकामाथि समेत उनले आलोचना गर्दै भने, “सर्च कमिटी भनेको मजाक हो? १० दिनमै राजीनामा दिने, १० दिनमै नयाँ नियुक्ति गर्ने?” भन्दै समितिको औचित्यमाथि शंका व्यक्त गरे।