लखनउमा बस आगलागी हुदाँ जिउँदै जलेर ५ को मृत्यु

लखनउमा बस आगलागी हुदाँ जिउँदै जलेर ५ को मृत्यु

लखनउ । आज बिहान लखनउको मोहनलालगञ्ज नजिक किसानपथमा एक स्लीपर एसी बसमा अचानक आगलागी हुँदा आमा–छोरी र बाबु–छोरीसहित पाँच जनाको जलेर मृत्यु भएको छ।

बिहारबाट दिल्ली जाँदै गरेको सो बसमा करिब ८० यात्रु सवार थिए। बिहान करिब ५ बजे अधिकांश यात्रु निदाइरहेका बेला एक्कासि धुवाँ निस्किन थालेपछि केही मिनेटमै आगो फैलिएको थियो।

चालक र कन्डक्टर जलेको बस छाडेर भागेपछि आकस्मिक निस्किने ढोका नखुलेको कारणले धेरै यात्रु फसेका थिए। भागदौडका क्रममा केही यात्रु लडेका थिए भने पछाडिका सिटमा बसेका यात्रु ज्यान जोगाउन असफल भए।

स्थानीयवासीले प्रहरी र दमकललाई खबर गरेका थिए। दमकलका गाडीहरू घटना स्थलमा पुगेर करिब ३० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा ल्याए। तर भित्र पाँचवटा जलेको शव फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार आकस्मिक गेट नखुल्नु नै ठूलो क्षतिको प्रमुख कारण बनेको छ।