

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट अन्तर्गत नेपालले आज बहराइनसँग महत्वपूर्ण खेल खेल्दैछ। सुपर थ्री चरणमा स्थान सुरक्षित गर्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ।
थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा दिउँसो १२:१५ बजे सुरु हुने खेलमा नेपाल जित निकाल्ने योजनासहित मैदानमा उत्रिनेछ। यसअघि नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको थियो भने हङकङसँगको पहिलो खेल वर्षाले रद्द भएको थियो। मंगलबारको अर्को खेलमा भने नेपाल हङकङसँग ७ विकेटले पराजित भएको थियो।
प्रतियोगितामा ९ टोली सहभागी छन्, जसमा नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन्। समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई रहेका छन्। प्रत्येक समूहका शीर्ष टोली ‘सुपर थ्री’ चरणमा प्रवेश गर्नेछन्। त्यसपछि ‘सुपर थ्री’ का शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन्।
नेपाली टोली:
लइन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा।