

माेरङ: गृहमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनको दशकपछि देखिएका कमजोरीहरू सुधार गर्न संशोधन अपरिहार्य भएको बताएका छन्। नेपाल प्रेस युनियन मोरङद्वारा बुधबार आयोजित ‘पत्रकारसँगको छलफल’ कार्यक्रममा बोल्दै उनले वर्तमान परिवेशमा संविधान संशोधन समयको आवश्यकता भएको उल्लेख गरे।
संविधान कार्यान्वयनपछि देखिएका व्यावहारिक समस्याहरूको विश्लेषण गरी सुधार गर्नुपर्ने अवस्था आएको भन्दै उनले संशोधनलाई अपरिहार्य ठहर गरे। यसै सन्दर्भमा नेकपा एमाले र नेपाली कांग्रेसबीच संयुक्त कार्यदल गठनबारे छलफल भइरहेको जानकारी पनि उनले दिए।
कार्यक्रममा गृहमन्त्री लेखकले प्रहरी समायोजनबारे सरकारको नीति स्पष्ट भए पनि विधेयक समितिमा रहेकाले सांसदहरूको सहयोग आवश्यक रहेको बताए। “संसद्को अधिकारलाई मन्त्रीले केही गर्न सक्दैन,” भन्दै उनले विधेयक समितिबाट पास भएपछि मात्र प्रक्रिया अघि बढ्ने स्पष्ट पारे।
उनले हाल ७० वर्ष पुरानो कानुनको आधारमा प्रहरी चलिरहेको जनाउँदै २०१२ सालको ऐनमा प्रदेशमा प्रहरी रहने कुरा उल्लेख नभएको बताए। यसकारण कानुनी तथा नीतिगत व्यवस्थामार्फत मात्रै समायोजन सम्भव हुने उनको भनाइ थियो।
प्रहरी संगठनलाई व्यवसायिक, स्थिर र अनुमानयोग्य बनाउने कार्य सुरु भइसकेको भन्दै उनले प्रहरी ऐन, नागरिकता ऐन र सशस्त्र प्रहरी ऐन राज्य व्यवस्था समितिमा विचाराधीन अवस्थामा रहेको जानकारी गराए।