एनआरएनए एकता, मर्यादा र उद्देश्यमा केन्द्रित होस् : प्रधानमन्त्री ओली

एनआरएनए एकता, मर्यादा र उद्देश्यमा केन्द्रित होस् : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बन्न आग्रह गरेका छन्।

‘एनआरएनए ग्लोबल कन्क्लेभ’को उद्घाटन समारोहमा बोल्दै उनले संघभित्र उद्देश्यसँग विसंगत गतिविधिहरू देखा पर्नु उचित नभएको उल्लेख गरे। ओलीले व्यक्तिगत स्वार्थभन्दा माथि उठी संकीर्णता त्यागेर साझा लक्ष्यतर्फ अग्रसर हुन सबैलाई आह्वान गरे।

“साझा संस्था विवादको थलो बन्नु हुँदैन। विधान व्यक्तिको स्वार्थअनुसार फेरिने हो भने संस्था टिक्दैन,” प्रधानमन्त्री ओलीले भने, “महाधिवेशन हानाहानको मंच बन्नु सकारात्मक संकेत होइन। विवेक र तर्कले संस्था चलोस्।”

प्रधानमन्त्री ओलीले एनआरएनएलाई नेपाली डायस्पोराका हकहितको प्रवर्द्धन, आपसी सम्बन्ध विस्तार, संस्कृति र परम्पराको जगेर्ना तथा मातृभूमिमा योगदान पुर्‍याउने लक्ष्यबाट विचलित नहुन सुझाव दिए।

उनले लोकतान्त्रिक प्रक्रिया र विधिको पालना गर्दै नेतृत्व हस्तान्तरण गरिनेमा आफ्नो विश्वाससमेत व्यक्त गरे।