विश्वकप लिग–२ का लागि स्कटल्याण्ड जान लागेको नेपाली क्रिकेट टोलीको विदाई

विश्वकप लिग–२ का लागि स्कटल्याण्ड जान लागेको नेपाली क्रिकेट टोलीको विदाई

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बुधबार औपचारिक रूपमा विदाई गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा टोलीलाई विदाई गरिएको हो। कार्यक्रममा बोल्दै टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले टिम उच्च मनोबलका साथ मैदानमा उत्रिने बताए। उनका अनुसार, स्कटल्याण्डमा हुने दुई–तीन खेलमा मात्र जित निकाल्न सकिए पनि लिग–२ को यात्रा सहज हुने छ। मल्लले लिग–२ को सुरुवात नै सकारात्मक हुने विश्वास व्यक्त गरे।

विदाई कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्काले पनि विश्वकप लिग–२ नेपालका लागि अत्यन्तै महत्वपूर्ण रहेको भन्दै टोलीले आफ्नो क्षमता देखाउनेमा आशा व्यक्त गरे। यद्यपि नेपालको हालको र्याङ्किङ तुलनात्मक रूपमा तल रहे पनि राम्रो नतिजा हासिल गर्ने खालको प्रदर्शन हुने विश्वास उनले व्यक्त गरे।

नेपाली टोलीले स्कटल्याण्ड पुगेर केही अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्डसँग तथा जुन ४ र जुन १० मा नेदरल्याण्ड्ससँग विश्वकप लिग–२ अन्तर्गतको प्रतिस्पर्धा गर्नेछ। लिग–२ सम्पन्न भएपछि नेपाली टोली युके भ्रमणमा निस्कने तालिका छ।