ब्राजिलको अनौठो गाउँ: जहाँ दाजुभाइ–दिदीबहिनीबीच विवाह चलनमा, तर रोग फैलिँदै

ब्राजिलको अनौठो गाउँ: जहाँ दाजुभाइ–दिदीबहिनीबीच विवाह चलनमा, तर रोग फैलिँदै

काठमाडौं । संसारभर विभिन्न अनौठा रीतिरिवाजहरू पाइन्छन्, जसले कहिलेकाहीँ वैज्ञानिक दृष्टिकोणबाट गम्भीर असर पनि पार्न सक्छ। यस्तै एउटा उदाहरण ब्राजिलको एक विकट गाउँमा देखिएको छ, जहाँ दाजुभाइ र दिदीबहिनीबीच विवाह हुने परम्पराका कारण गम्भीर रोग फैलिएको पाइएको छ।

ब्राजिलको उत्तर पहाडमा रहेको ‘सेरिन्हा डोस पिन्टोस’ नामक गाउँमा स्थानीय बासिन्दाहरू धेरै समयदेखि आफ्नै समुदायभित्र, विशेषतः नजिकका आफन्तबीच विवाह गर्दै आएका छन्। यही कारण, यस गाउँमा जन्मिने करिब ३० प्रतिशत बालबालिकामा एक दुर्लभ आनुवंशिक रोग देखिएको छ, जसका कारण उनीहरू चल्न सक्दैनन्।

२० वर्षअघि जीवविज्ञानी सिल्भाना सान्तोसले गाउँको अध्ययन गर्दा यो रहस्य खुलेको हो। गाउँमा अधिकांश व्यक्तिहरू एकै प्रकारका देखिने, उस्तै अनुहार भएका र आफ्नै समुदायमा मात्रै विवाह गर्ने परम्परा रहेको उनले बताइन्।

बीबीसीका अनुसार, ती बालबालिकामा देखिएको रोग ‘स्पोन सिन्ड्रोम’ हो, जसलाई ‘स्पास्टिक प्याराप्लेजिया’ पनि भनिन्छ। यो एक प्रकारको दुर्लभ न्यूरोडिजेनेरेटिव समस्या हो, जुन आमाबुबा दुवैमा उत्परिवर्तित जीन रहेमा सन्तानमा देखा पर्छ। यस रोगका लक्षणहरू किशोरावस्थाअघि नै देखिन थाल्छन् र समयसँगै गम्भीर बन्दै जान्छन्।

सान्तोसले यो रोगबारे अनुसन्धानमार्फत पहिलोपटक विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन्। हालसम्म यस रोगको उपचार त छैन, तर उनीको प्रयासले जनचेतना फैलाउने काम भने उल्लेखनीय रूपमा अघि बढेको छ।

गाउँको विकटता र बाह्य सम्पर्कको अभावका कारण यहाँ अझै पनि दाजुभाइ–दिदीबहिनीबीचको विवाह चलिरहेकै छ, जसले भविष्यमा स्वास्थ्य संकट झनै गहिरिने संकेत दिएको वैज्ञानिकहरू बताउँछन्।