

काठमाडौं । देशमा हाल पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भू-भागमा मौसम मुख्यतया सफा वा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भू-भागमा अधिकतम तापक्रम बढ्ने सम्भावना रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र चट्याङ्गको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ।
रातको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्नेछ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही भागमा हावाहुरीको सम्भावना रहेको छ। महाशाखाले यस्तो मौसमका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।