काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गर्न लागिएको भन्दै सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन दायर गरिएको छ। रिटमा राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन खोजिएको भन्दै राष्ट्र बैंक ऐन, २०५८ को उल्लङ्घन भएको दाबी गरिएको छ।
अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले दायर गरेको रिटमा, राजनीतिक पार्टीसँग प्रत्यक्ष सम्बन्ध भएका व्यक्तिलाई गभर्नर नियुक्त गर्नु नेपालको मौलिक बैंकिङ संरचनामाथिको हस्तक्षेप हुने जिकिर गरिएको छ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच डा. पौडेललाई गभर्नर बनाउने सहमति जुटेको चर्चा भइरहँदा उनी गभर्नर छनोट समितिबाट आइतबार राजीनामा दिएका थिए।
यसअघि गभर्नर पदमा डा. गुणकर भट्टको नाम पनि चर्चामा आएको थियो, तर उनीविरुद्ध समेत सर्वोच्चमा रिट दायर भइसकेको छ। राष्ट्र बैंकको नेतृत्व चयन प्रक्रियामाथि उठेका कानुनी प्रश्नले अब गभर्नर नियुक्ति प्रक्रिया थप पेचिलो बन्ने देखिएको छ।