सुप्रिम सहकारी प्रकरणमा रवि लामिछाने र छविलाल जोशीकाे निवेदन फेरि ‘हेर्न नमिल्ने’ मा

सुप्रिम सहकारी प्रकरणमा रवि लामिछाने र छविलाल जोशीकाे निवेदन फेरि ‘हेर्न नमिल्ने’ मा

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीका निवेदन सोमबार पनि सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त निवेदनलाई हेर्न नमिल्ने भन्दै स्थगित गरिएको हो। लामिछानेले उच्च अदालतको आदेश बदरको माग गर्दै दायर गरेको ७३ नम्बर निवेदन, उनकी पत्नी निकिता पौडेलद्वारा दायर बन्दी प्रत्यक्षीकरण निवेदन र जोशीको निवेदन एउटै इजलासमा परेका थिए।

यसअघि आइतबार पनि न्यायाधीश सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा परेको निवेदन ‘हेर्न नमिल्ने’ मा परेको थियो। पोखरेलले लामिछानेको नागरिकता तथा राहदानीसम्बन्धी मुद्दामा वकालत गरिसकेको कारण उक्त फाइल हेर्न नमिल्ने बताइएको हो।