सन्तोष परियारको प्रश्न – ‘राज्य र नागरिकबीचको द्वन्द्व किन सुरु भयो?’

सन्तोष परियारको प्रश्न – ‘राज्य र नागरिकबीचको द्वन्द्व किन सुरु भयो?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभामा बोल्दै राज्य र नागरिकबीचको सम्बन्ध कमजोर हुनुको कारण खोजिनुपर्ने बताएका छन्।

आजको बैठकमा उनले गत महिना भएको आन्दोलनका क्रममा सरकारी तथा निजी सवारीसाधन तोडफोड गर्न उक्साइएको अनुभव सुनाउँदै राज्यप्रति नागरिकमा बढ्दो असन्तुष्टि गम्भीर चिन्ताको विषय भएको बताए।

“सरकारी गाडी तोड्न भनिएको थियो, जुन सरकार नेपाली जनताको प्रतिनिधि हो — तर त्यो सरकारप्रति नै आक्रोश देखिनु किन?” भन्दै उनले राज्य र नागरिकबीचको द्वन्द्वको मूल कारण खोजिनुपर्ने बताए।

परियारले २००७ साल यता राजनीतिक दलहरूले विकासका नाममा राजनीतिमा आएको दाबी गरे पनि अपेक्षित परिणाम नआएको भन्दै आलोचना गरे। उनले नेपाली समाजको वास्तविक अन्तरद्वन्द्व पहिचान नगरेसम्म दार्शनिक इमान्युल कान्टले भनेझैँ “सत्य थाहा पाउने आँट” नगरेको भनी टिप्पणी गरे।

त्यस्तै, उनले देशमा जातीय विभेद नरहेको भनी गरिने दाबीप्रति आपत्ति जनाउँदै, “सत्य लुकाएर लुक्दैन” भन्दै विभेद अझै विद्यमान रहेको स्पष्ट गरे।