विकास साझेदारहरूसँग अर्थमन्त्रीको प्रतिबद्धता– ‘आर्थिक सुधारलाई आगामी बजेटको केन्द्रमा राखिन्छ’

विकास साझेदारहरूसँग अर्थमन्त्रीको प्रतिबद्धता– ‘आर्थिक सुधारलाई आगामी बजेटको केन्द्रमा राखिन्छ’

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले सुरु गरेको आर्थिक सुधार क्रमलाई थप तीव्र बनाउँदै आगामी बजेटमा आर्थिक स्थायित्व, उत्पादन वृद्धि र निजी क्षेत्रको सशक्तिकरणमा केन्द्रित हुने स्पष्ट पारेका छन्।

विकास साझेदारहरूसँग बजेटसम्बन्धी छलफलका क्रममा उनले भने, “केही समयदेखि आर्थिक सुधारका कदम चाल्दै आएका छौं र सकारात्मक नतिजा पनि देखिन थालेका छन्। आगामी दिनमा हामी आर्थिक सुधारलाई अझ उच्च प्राथमिकतामा राख्नेछौं।” पौडेलले अध्यादेशबाट भएका कानुनी संशोधन, आर्थिक सुधार सुझाव आयोगका सिफारिस र नीतिगत निर्णयहरूलाई सुधारको मेरुदण्डका रूपमा व्याख्या गरे।

अर्थमन्त्री पौडेलले नयाँ बजेट निजी क्षेत्रलाई प्रोत्साहन दिने, रोजगारी सिर्जना गर्ने, उत्पादनशीलता बढाउने र समग्र अर्थतन्त्रलाई मजबुत बनाउने दिशामा केन्द्रित हुने बताए। स्रोतको सीमितताबीच बजेट खर्च मितव्ययी बनाइने र उच्च प्रतिफल आउने क्षेत्रमा विनियोजन गरिने उनको भनाइ थियो।

“वैदेशिक सहायता नेपालको प्राथमिकता र आवश्यकतामा केन्द्रित गरिनेछ र यसको प्रभावकारी प्रयोग सुनिश्चित गरिनेछ,” उनले थपे। उनले पूँजीगत खर्चमा देखिएका समस्याको समाधानतर्फ पनि विशेष ध्यान दिइएको उल्लेख गरे।

छलफलमा भारत, चीन, अमेरिका, बेलायत, जापान, कोरिया, अष्ट्रेलिया, नर्वे, जर्मनी, फिनल्याण्ड, युरोपियन युनियन, विश्व बैंक, एसियाली विकास बैंक, संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरू सहभागी थिए।

अर्थ सचिव घनश्याम उपाध्यायले आगामी बजेटले आर्थिक अनुशासन कायम गर्न र निजी क्षेत्रको आत्मविश्वास बढाउने उद्देश्य राख्ने जानकारी गराए।
महाशाखा प्रमुख धनीराम शर्माले पनि विगतको तुलनामा अर्थतन्त्र सुधारको बाटोमा रहेको र परिसूचकहरू सकारात्मक रहेको बताए।

विकास साझेदारहरूले स्रोत परिचालन, राजस्व व्यवस्थापन, यथार्थपरक बजेट निर्माण र प्रभावकारी कार्यान्वयनमा सुझाव दिँदै नेपालको आर्थिक यात्रामा थप सहयोग गर्न प्रतिबद्धता व्यक्त गरे।