‘जनताको करबाट पारिश्रमिक लिन उपयुक्त छैन’ भन्दै लुम्बिनी प्रदेश सांसदको राजीनामा

‘जनताको करबाट पारिश्रमिक लिन उपयुक्त छैन’ भन्दै लुम्बिनी प्रदेश सांसदको राजीनामा

बुटवल : लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छिन्। जनमत पार्टीकी तर्फबाट समानुपातिक प्रणालीमार्फत सांसद बनेकी गुरुङले जनताको करबाट पारिश्रमिक लिन आफूलाई उचित नलागेको भन्दै राजीनामा दिएकी हुन्।

सभामुखलाई पठाइएको राजीनामा पत्रमा उनले लेखेकी छिन्, “राष्ट्र, देश र जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो। जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। त्यसैले आजैको मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु।”

जनमत पार्टीका प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङको राजीनामाको पुष्टि गर्दै सभामुखलाई स्वीकृत गर्न सिफारिस गरिएको जानकारी दिए। उनको राजीनामाले जनप्रतिनिधिको भूमिकाबारे सार्वजनिक विमर्श सिर्जना गराउने अपेक्षा गरिएको छ।