भारतविरोधी अभिव्यक्तिपछि ‘सनम तेरी कसम’ की पाकिस्तानी अभिनेत्री मावरा होकनेको तस्वीर हटाइयो

भारतविरोधी अभिव्यक्तिपछि ‘सनम तेरी कसम’ की पाकिस्तानी अभिनेत्री मावरा होकनेको तस्वीर हटाइयो

मुम्बई । पछिल्ला दिनहरूमा भारत–पाकिस्तानबीच बढेको तनावले सिने क्षेत्रसमेत तातेको छ। यसैबीच, बलिउड फिल्म सनम तेरी कसम की पाकिस्तानी अभिनेत्री मावरा होकने विवादमा परेकी छिन्। उनले भारतविरुद्ध दिएको अभिव्यक्तिपछि उनलाई विभिन्न अनलाइन म्युजिक प्लेटफर्महरूले गम्भीर रूपमा लिएर कारबाही गरेका छन्।

मावरा होकनेको अनुहार हाल सनम तेरी कसम को पोस्टरबाट हटाइएको छ। जियो, स्पोटिफाइजस्ता प्रमुख संगीत स्ट्रिमिङ प्लेटफर्ममा अब फिल्मका गीतहरू खोज्दा केवल अभिनेता हर्षवर्धन राणेको तस्वीर मात्र देखिन्छ। अभिनेत्रीको तस्वीर पूर्ण रूपमा हटाइएको छ।

यो निर्णय भारतको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतीय सेनाले पीओकेमा गरेको कारबाहीका कारण पाकिस्तानमा चर्किएको आक्रोशको प्रतिउत्तरस्वरूप आएको हो। कारबाहीको आलोचना गर्दै मावरा लगायत केही पाकिस्तानी सेलिब्रेटीहरूले भारतविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए।

यसपछि फिल्मका निर्माता र अभिनेता हर्षवर्धन राणेले मावरा होकनेको भनाइको प्रतिवाद गर्दै उनलाई आगामी सिक्वेलबाट पनि हटाउने घोषणा गरेका थिए। साथै, राणेले उनको व्यवहारलाई ‘पब्लिसिटी स्टन्ट’ भन्दै आलोचना गरेका छन्।

यता, भारत सरकारले पनि पाकिस्तानसँग जोडिएका कलाकारहरूमाथि प्रतिबन्ध कडा बनाएको छ। ओटीटी प्लेटफर्महरूमा पाकिस्तानी सामग्री स्ट्रिम गर्न रोक लगाइएको छ भने केही सेलिब्रेटीहरूको सामाजिक सञ्जाल ह्यान्डलहरू समेत बन्द गरिएका छन्।

यसरी, विवादास्पद अभिव्यक्तिका कारण मावरा होकनेले आफ्नो करिअरमै असर पर्ने गरी घाटा बेहोर्नु परेको छ।