

काठमाडौं । पाकिस्तानसँगको तनावका कारण स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को खेल मे १७ बाट पुनः सुरु हुने भएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आफ्नो सामाजिक सञ्जालमार्फत प्रतियोगिता पुनः सुरु हुने जानकारी दिएको हो।
मे ९ मा जारी लिग चरणको एक खेलबीचमै पाकिस्तानको आक्रमण भएपछि बीसीसीआईले देश युद्धजन्य परिस्थितिमा रहेको भन्दै आईपीएल स्थगित गरेको थियो। अब लिग चरणका बाँकी १३ खेलहरू ६ विभिन्न स्थानहरू—बैंगलोर, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद—मा आयोजना हुनेछन्।
पुनः सुरु हुने पहिलो खेल मे १७ मा बैंगलोरमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र कोलकाता नाइट राइडर्स (केकेआर) बीच हुनेछ। मे २९ देखि प्लेअफ चरण सुरु हुने छ भने फाइनल खेल जुन ३ मा हुने तय भएको छ।
बाँकी १३ लिग खेलहरू ११ दिनभित्र सम्पन्न गरिनेछ। दुई डबल हेडर (एकै दिन दुई खेल) मे १८ र २५ मा हुनेछन्। यसअघि मे ८ मा धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पाकिस्तानको आक्रमणका कारण रोकिएको थियो, जुन अब मे २४ मा जयपुरमा खेलाइनेछ।
आईपीएल २०२५ मा कुल ७४ खेल तय गरिएका थिए। मे ९ सम्म ५७ खेल सम्पन्न भइसकेका थिए, र ५८औँ खेल बीचमै रोकिएको थियो। अब १७ खेल बाँकी छन्, जसमा १३ लिग र ४ प्लेअफ खेलहरू छन्।
मुम्बई, कोलकाता, राजस्थान र चेन्नईका दुई–दुई लिग खेल बाँकी रहेका छन् भने अन्य टोलीहरूले तीन–तीन खेल खेल्न बाँकी छ। प्रत्येक टोलीले लिग चरणमा १४ खेल खेल्नुपर्ने नियम छ।