

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।
कोहलीले सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूले अब टेस्ट क्रिकेट नखेल्ने निर्णय सार्वजनिक गरेका हुन्। सन् २०११ मा टेस्ट डेब्यू गरेका ३६ वर्षीय कोहलीले भारतका लागि १२३ टेस्ट खेल्दै ९ हजार २ सय ३० रन बनाएका छन्। यस क्रममा उनले ३० शतक र ३१ अर्धशतक प्रहार गरेका थिए।
टेस्ट क्रिकेटमा सफल कप्तानको रूपमा समेत चिनिएका कोहलीले संन्यास घोषणा गर्दै लेखेका छन्, “म कृतज्ञताले भरिएको हृदय लिएर बिदा हुँदैछु—खेलप्रति माया गर्ने सबैका लागि। म सधैं आफ्नो टेस्ट करियरलाई गर्वका साथ सम्झनेछु।”
केही दिनअघि मात्र भारतीय कप्तान रोहित शर्माले पनि टेस्ट क्रिकेटबाट संन्यास लिएका थिए। कोहली र रोहितले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि एकसाथ विदा लिएका थिए। यद्यपि, उनीहरू एकदिवसीय क्रिकेटमा भने अझै सक्रिय रहनेछन्।