

रुपन्देही। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा अशान्ति बढिरहेको वर्तमान सन्दर्भमा बुद्ध दर्शन र शिक्षाको उपादेयता अझै महत्वपूर्ण बनेको बताएका छन्।
लुम्बिनीमा आज आयोजित २५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै उनले द्वन्द्व र हिंसालाई हतियारले होइन, बुद्धको शान्ति, करुणा र मानवताको शिक्षाले मात्रै अन्त्य गर्न सकिने धारणा व्यक्त गरे।
“छिमेकी भारत र पाकिस्तान युद्धको स्थितिमा पुगेका थिए, तर सबैको दबाबमा केही समयका लागि फिर्ता भएका छन्। अझै पनि समस्या बाँकी छन्,” भन्दै प्रधानमन्त्री ओलीले लुम्बिनीबाट विश्व शान्तिको कामना गरिएको उल्लेख गरे।
उनले जल, थल र वायुमार्गबाट आक्रमण गर्न सक्ने हतियारको निर्माण भइरहेको आजको युगमा बुद्धको उपदेश नै मानवता र अस्तित्वको रक्षाका लागि उत्तम उपाय भएको बताए। “बुद्धले निजी सुख छाडेर मानव कल्याणका लागि दरबार त्यागेका थिए, यो मानवजातिका लागि ठूलो शिक्षा हो,” उनले भने।
बुद्धको विचार, उपदेश र मूल्यहरूलाई बचाइराख्न अग्रजहरूले गरेका संघर्षको स्मरण गर्दै उनले बुद्ध दर्शनअनुसार नै विश्वमा शान्ति कायम गर्नुपर्नेमा जोड दिए। लुम्बिनीलाई उनले केवल पवित्र भूमि नभई बुद्ध दर्शनको जन्मस्थलका रूपमा चिनाए।
प्रधानमन्त्री ओलीले लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै भने, “गुरुयोजना ढिलो भएको छ, अब छिटो कार्यान्वयन गर्नुपर्छ।” साथै, उनले बुद्धका सन्देश र उपदेशहरू हरेक व्यक्ति, समाज र राष्ट्रका लागि आवश्यक रहेको बताए। बुद्धका शिक्षालाई अनुसन्धान र अध्ययनमार्फत फैलाउन लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएको उल्लेख गर्दै उनले विश्वविद्यालयलाई त्यही उद्देश्यअनुसार केन्द्रित हुन आग्रह गरे।
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्न भाषाको अनुवाद आवश्यक भएको भन्दै लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराए। उनले २०७३ सालमा हावाहुरीले कार्यक्रम स्थल भत्काएको स्मरण गर्दै त्यसपछि निर्माण गरिएको सभाहल पूर्ण रूपमा सम्पन्न गर्न निर्देशनसमेत दिए।
“अर्को वर्षको बुद्ध जयन्ती सुविधा सम्पन्न सभाहलमै मनाइनेछ,” भन्दै उनले लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम भव्य रूपमा आयोजना गरिने घोषणा गरे।