‘फर्जी २’ बाट शाहिद कपुरले तोडे पारिश्रमिकको रेकर्ड, पाए ४५ करोड

‘फर्जी २’ बाट शाहिद कपुरले तोडे पारिश्रमिकको रेकर्ड, पाए ४५ करोड

मुम्बई । बलिउड अभिनेता शाहिद कपुरले वेब श्रृंखला ‘फर्जी २’ का लागि आफ्नो करिअरकै सबैभन्दा धेरै पारिश्रमिक लिएका छन्। उनले यस सिरिजबाट ४५ करोड भारतीय रुपैयाँ पारिश्रमिक बुझेका हुन्।

हालै रिलिज भएको शाहिदको फिल्म ‘देवा’ बक्स अफिसमा असफल भए पनि उनको लोकप्रियता र पारिश्रमिकमा भने कुनै गिरावट आएको छैन। उनी अब ‘फर्जी’ को दोस्रो संस्करणमा पुनः आफ्नो चर्चित भूमिकामा देखिने भएका छन्।

सन् २०२३ मा प्राइम भिडियोमार्फत डिजिटल डेब्यू गरेका शाहिदले ‘फर्जी’ मा गरेको अभिनय दर्शकले रुचाएका थिए। अब ‘फर्जी २’ मा उनी विजय सेतुपति र केके मेननसँग आमने–सामने हुनेछन्, जसले अपराध–थ्रिलर कथामा थप रोमाञ्चकता ल्याउने अपेक्षा गरिएको छ।

पिंकभिलाको रिपोर्ट अनुसार, शाहिद सामान्यतया २५ देखि ३० करोड पारिश्रमिक लिँदै आएका थिए। तर, यो पटक उनले आफ्नो पारिश्रमिक उल्लेख्यरूपमा बढाएका छन्।

‘फर्जी २’ को छायांकन सन् २०२५ को अन्त्यतिर सुरु हुने अनुमान गरिएको छ। हाल निर्देशकद्वय राज र डीके अर्को प्रोजेक्ट ‘रक्त ब्रह्माण्ड’ मा व्यस्त छन्। यसपछि मात्र ‘फर्जी २’ को प्रि–प्रोडक्सन थालिनेछ।

पहिलो सिजनमा विजय सेतुपति, राशि खन्ना, भुवन अरोरा र काव्या थापरजस्ता कलाकारको उपस्थिति रहेको थियो। दोस्रो सिजन अझ गहिरो र तीव्र हुने अनुमान गरिएको छ र आगामी वर्षको अन्त्यतिर रिलिज हुने बताइएको छ।