

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग सम्पूर्ण मानव समुदायका लागि अद्वितीय प्रेरणा भएको बताएका छन्।
बुद्धको २५६९औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली भूमिमा जन्मिएका बुद्धका शिक्षाले विश्वभरका मानिसलाई शान्तिको बाटो हुँदै समृद्धि र उन्नतिको दिशामा अग्रसर गराउँदै आएको उल्लेख गरे।
उनले बुद्धले कठोर साधना मार्फत प्राप्त गरेका सत्य, शान्ति र सहिष्णुताका सन्देशलाई सबैले मन, वचन र कर्मबाट अनुसरण गर्नुपर्ने आवश्यकता औँल्याए।
देउवाले देश तथा विश्वमा फैलिएको अशान्ति, हिंसा, हत्या, अन्याय र अत्याचारको अन्त्य होस् भन्ने कामनासहित सम्पूर्ण बौद्ध धर्मावलम्बी, शान्तिप्रेमी र अहिंसावादीहरूलाई बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गरे।
त्यसैगरी, सभापति देउवाले किरात समुदायद्वारा वैशाख पूर्णिमाका दिन मनाइने उभौली पर्वका अवसरमा पनि स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
देउवाले प्रकृतिको पूजा गर्ने किरात समुदायको परम्परालाई सम्मान गर्दै उभौली पर्वले पृथ्वीमा अन्नबाली राम्रो होस् र खाद्यान्नको अभाव कतै नपरोस् भन्ने कामनासमेत गरेका छन्।