आज बुद्ध पुर्णिमा मनाइँदै

आज बुद्ध पुर्णिमा मनाइँदै

काठमाडौं। आज वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध पूर्णिमा, भगवान् गौतम बुद्धको जन्मजयन्ती नेपालसहित विश्वभर विविध कार्यक्रमहरूका साथ श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ।

शान्तिका अग्रदूत शाक्यमुनि बुद्धको जन्म कपिलवस्तु जिल्लामा ईसा पूर्व ५६६ मा भएको मानिन्छ। यद्यपि सिंहली मत अनुसार उनको जन्म अझै पहिल्यै भएको हुनसक्ने विश्वास छ।

बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो। जन्मनासाथ सात कदम अघि बढेर चारै दिशातर्फ औंलाले संकेत गरेको भनिने सिद्धार्थलाई करोडौं अनुयायीहरूले भगवानका रूपमा पूज्ने गरेका छन्। उनलाई भगवान विष्णुको दश अवतारमध्ये एक अवतारका रूपमा समेत हिन्दू धर्मावलम्बीहरूले मान्ने गर्छन्।

बुद्धको जन्मपश्चात् उनकी आमा मायादेवीको सात दिनमै मृत्यु भएको थियो। बुद्धले भारतको बोधगयामा ज्ञान प्राप्त गरी समस्त मानव जातिलाई अहिंसा, करुणा, मैत्री र शान्तिको मार्गमा चल्न सन्देश दिएका थिए।

उनका उपदेशहरू त्रिपिटक नामक धर्मग्रन्थमा संकलित छन्। त्रिपिटकमा बुद्धका ८४ हजार शिक्षाहरू छन्, जसमा ८२ हजार स्वयं बुद्धका र २ हजार उनका प्रमुख शिष्यहरूका छन्। बुद्धका ३२ भौतिक लक्षणहरूको समेत त्रिपिटकमा विस्तृत वर्णन गरिएको छ।

बुद्धको प्रमुख दार्शनिक अवधारणा ‘प्रतित्यसमुत्पाद’ अर्थात् परस्पर आश्रित उत्पत्तिको सिद्धान्त हो, जसले सबै वस्तुहरू एक–अर्कासँग निर्भर सम्बन्धमा छन् भन्ने बताउँछ।

गौतम बुद्धलाई ‘एसियाको तारा’ पनि भनिन्छ। बुद्ध नेपालमा जन्मेका कारण नेपाल सरकारले प्रत्येक वर्ष बुद्ध जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने गरेको छ। आज पनि देशभर सार्वजनिक बिदा घोषणा गरिएको छ।