

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। आइतबार १२.५३ अंकले घटेको बजार २,६४९.११ बिन्दुमा झरेको हो, जुन ०.४७ प्रतिशतको गिरावट हो।
नेप्सेका अनुसार आज तीन सय कम्पनीका २ करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९५५ पटक खरिद बिक्री हुँदा कारोबार रकम १० अर्ब २० करोड २७ लाख रुपैयाँ नाघेको छ।
आजको कारोबारमा होटल तथा पर्यटन समूहमा भने उल्लेख्य सुधार देखिएको छ। यो उपसूचकमा ६.५० प्रतिशतको वृद्धि भएको हो। विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहको उपसूचकमा पनि हल्का वृद्धि भए पनि अन्य सबै समूहमा गिरावट देखिएको छ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर १० प्रतिशतले वृद्धि भएको छ। यी कम्पनीका सेयर मूल्य क्रमशः २४५७.६० र २०३१.७० रुपैयाँ पुगेका छन्। हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर, र ओम मेगाश्री फर्मास्युटिकल्सका सेयर मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ।
यता, सिन्धु विकास बैंकका लगानीकर्ताका लागि भने आज घाटाको दिन रह्यो। कम्पनीको सेयर मूल्य ६.४५ प्रतिशतले घटेर ८२५ रुपैयाँमा झर्यो। गुह्येश्वरी मर्चेन्ट, सिनर्जी पावर, एचआईडीसीएल लगायतका कम्पनीका सेयर मूल्यमा समेत उल्लेख्य गिरावट आएको छ।
आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनीको भएको छ।