

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै र निवास फरक बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि आजको छलफलमा भाग लिँदै खतिवडाले यसो गरे सरकारको खर्च कटौती हुने धारणा राखे ।
सार्वजनिक ऋण अहिले २६ अर्ब पुगेको र साधारण खर्च राजश्वले धान्न सक्ने अवस्था नरहेको उनले बताए । उनले भने, ‘ऋण लिएर ऋण तिर्नुपर्ने अवस्था छ । यसका लागि खर्च कटौती कसरी गर्न सकिन्छ, त्यतातिर सरकारको ध्यान जानुपर्दछ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका कर्मचारी एउटै रहने, निवास फरक रहने व्यवस्था भयो भने अलिकता यसलाई सहजता हुन्छ ।’
अहिले नागरिकको ध्यान संसदतिर आकर्षित गर्नुपर्ने भएको बताउँदै उनले त्यसका लागि सरकारले संसदलाई काम दिनुपर्ने बताए ।