फुजेल घटनाका आरोपी छविलाल रिहा, गंगामाया निराश

फुजेल घटनाका आरोपी छविलाल रिहा, गंगामाया निराश

काठमाडौं, २५ भदौ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा जिल्ला अदालत चितवनबाट सफाइ पाएका छविलाल पौडेल आज कारागारबाट रिहा हुनु भएको छ । डिल्लीबजार कारागारले चितवन जिल्ला अदालतले सफाइ दिएसँगै पौडेल आज बिहान रिहा भएको जानकारी दिएको छ । चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेसँगै पौडेल सोमबार बिहान डिल्लीबजार कारागारबाट छुट्नु भएको हो ।

अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार फैसलामा न्यायको मान्य सिद्धान्त र प्रमाण तथा ऐनको दफा २५ को दायित्व नेपाल सरकारले गर्न नसकेको मुद्दामा कानूनी रुपले प्रमाण अभाव देखिँदा दावी स्थापना हुन सक्ने आधार एवं कारण नदेखिएको उल्लेख छ । फैसलामा भनिएको छ, “अभियोग लगाउँदैमा, मुद्दा अदालतमा दायर गर्दैमा अभियोग प्रमाणित हुने नदेखिँदा आरोपित प्रतिवादीउपरको जन्मकैद गरी पाऊँ भन्ने वादीको दाबी पुग्ने वस्तुनिष्ठ आधार देखिँदैन ।”

“प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको भन्ने शङ्कारहित प्रमाणबाट माग दाबी पुष्टि हुन आएको नदेखिँदा आरोपित कसूरबाट सफाइ हुने ठहर्छ”, फैसलामा भनिएको छ । घटनाका प्रतिवादी गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीले सफाइ पाउनुभएको हो ।

उहाँहरुमध्ये छविलाल कारागारमा तथा अन्य सामान्य धरौटी र तारेखमा हुनुहुन्थ्यो । प्रतिवादीमध्ये रुद्र आचार्य भने विदेशमा रहेको बताइएको छ । अदालतले आचार्यको मुद्दा भने मुल्तबीमा राखेको छ । फैसलामा भनिएको छ, “मृतकलाई गोली प्रहार गर्ने भनिएका प्रतिवादी रुद्र आचार्य अदालतको म्यादमा हाजिर नभई फरार रहेको हुँदा प्रतिवादी पछि हाजिर भए वा पक्राउ परेका बेला निजलाई यसै मिसिलबाट कारवाही हुने छ”, फैसलामा अगाडि भनिएको छ, “निजको हकमा सावित मुलुकी ऐन अदालती बन्दोबस्तीको १९० बमोजिम मुल्तवीमा राखिदिने ठहर्छ ।”

अदालतमा वादीका तर्फबाट एक, जाहेरवालाका तर्फबाट चार र प्रतिवादीका तर्फबाट नौ जनाले बहस गर्नुभएको थियो । कृष्णप्रसादको विसं २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्लामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो ।

चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा समेत निवेदन पुगेपछि छविलाललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । सोही आदेशानुसार गत असार २४ गते उहाँ सर्वोच्च अदालतसमक्ष हाजिर हुनुभएको थियो । अदालतले सोही दिन उहाँलाई डिल्लीबजार कारागार चलान गरेको थियो ।

विसं २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा १३ जनाविरुद्ध मुद्दा दायर भएको थियो । त्यसपछि २२ पटक पेशी सरेर फैसला भएको हो । पाँच वर्ष पुरानो सो मुद्दा अहिलेसम्म पाँच न्यायाधीशले हेर्नुभएको छ । तत्कालीन जिल्ला न्यायाधीश विनोदमोहन आचार्यले थुनछेक आदेश गर्नुभएको थियो । त्यसपछि वासुदेव पौडेल, टेकनारायण कुँवर, कविप्रसाद न्यौपाने र कुलप्रसाद शर्माले मुद्दा हेर्नुभएको हो ।

चितवन जिल्ला अदालतको फैसला लगत्तै बीर अस्पतालमा उपचारार्थ रहनु भएकी गंगामायाले यसबाट आफु निराश भएको प्रतिक्रिया दिनु भएकाे छ।  झण्डै ६ वर्षअघि पति नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीसहित छोरा कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कारवाहीको माग राख्दै अनशन बसेपछि गिरफ्तार हुनुभएका  छविलाललाई चितवन अदालतमै जमानतमा रिहा गरेको थियो। त्यस लगत्तै भएको अनशपछि तीन सय ३१ औं दिनमा नन्दप्रसाद प्राण त्याग्नु भएकाे थियाे।