

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा व्यवसाय गर्न सहज र सम्मानजनक वातावरण बनाउन सरकार गम्भीर रूपमा लागिपरेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ढुवानी व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सबै नागरिकले सम्मानका साथ व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता गर्न सरकार कटिबद्ध रहेको बताए।
उनले देशभित्रको उत्पादन वृद्धि, कर प्रणालीलाई व्यवहारिक बनाउँदै नागरिकलाई जिम्मेवार करदाताका रूपमा प्रस्तुत हुने अवस्था निर्माण हुँदै गएको उल्लेख गरे।
ढुवानी प्रणाली प्रभावकारी नभएमा वितरण प्रणालीमै असर पर्ने भन्दै पौडेलले ढुवानी व्यवस्थालाई सक्षम र व्यवस्थित बनाएर समृद्धिको दिशामा अघि बढ्न सकिने धारणा राखे।
अर्थमन्त्री पौडेलले आगामी बजेट निर्माण प्रक्रियामा सबै क्षेत्रका सरोकारवालाबाट प्राप्त सुझावलाई आफूले उच्च प्राथमिकताका साथ लिएको पनि जानकारी दिए।