

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले शानदार प्रदर्शन गर्दै बहराइनलाई ९ विकेटले पराजित गरेको छ।
थाईल्यान्डको तेरथाइ मैदानमा वर्षा र भिजेको मैदानका कारण खेल ५ ओभरमा सीमित गरिएको थियो। बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि कविता कुँवरले आक्रामक ब्याटिङ गर्दै १८ रन बनाइन् भने सम्झना खड्का १३ रनमा र कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहिन्।
त्यसअघि टस जितेर ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेटको क्षतिमा ४१ रन बनाएको थियो। कप्तान दिपिका रंगासिकाले १३ बलमा ३४ रनको तूफानी पारी खेलिन्। श्रीलंकाबाट खेलेको अनुभवसमेत बोकेको दिपिकाको आक्रमक ब्याटिङकै कारण बहराइनले प्रतिस्पर्धात्मक योगफल खडा गर्न सकेको थियो।
यसअघि शुक्रबार तय भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षा र खराब मैदानका कारण टस नै हुन नसकी रद्द भएको थियो, जसमा दुबै टोलीले १–१ अंक बाँडेका थिए।
नेपालले अब मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने छ।