

काठमाडौं । भारतले जम्मु–काश्मीरमा भएको आतङ्ककारी हमलाको विरोध गर्दै भारतको कदमप्रति समर्थन जनाएका नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज तथा सञ्चार माध्यमप्रति आभार प्रकट गरेको छ।
शुक्रबार लैनचौरस्थित भारतीय दूतावासमा आयोजित सम्पादकहरूसँगको भेटघाट कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकार र नेपाली जनताले आतङ्कवादको विरोधमा स्पष्ट अभिव्यक्ति दिएकामा भारत कृतज्ञ रहेको बताए। उनले आतङ्कवादविरुद्ध सम्पूर्ण विश्व एक हुनुपर्नेमा जोड दिँदै नेपाली जनताको समर्थन महत्वपूर्ण रहेको बताए।
राजदूत श्रीवास्तवले काश्मीरको पहलगाममा ‘द रेसिस्टेन्ट फोर्स (टीआरएफ)’ नामक आतङ्ककारी समूहद्वारा गरिएको आक्रमणमा एक नेपालीसहित २६ जना निर्दोष नागरिकको ज्यान गएको घटनाबारे जानकारी गराउँदै पाकिस्तान त्यसका लागि जिम्मेवार रहेको आरोप लगाए। उनले पाकिस्तानले सीमामा ड्रोन र मिसाइल आक्रमण तीव्र बनाएको, भारतीय चेकपोष्टमा आक्रमण गरी १६ जना सुरक्षाकर्मीको ज्यान लिएको तर भारतले संयम अपनाउँदै केवल आत्मरक्षात्मक कदम चालेको स्पष्ट गरे।
भ्रमपूर्ण प्रचारमार्फत द्वन्द्व चर्काउन खोजेको आरोप पाकिस्तान सरकारमाथि लगाउँदै उनले भने, “भारत द्वन्द्व चर्काउने पक्षमा छैन, तर आफ्ना जनताको सुरक्षामा सम्झौता गर्न सक्दैन।” उनले पाकिस्तानका आम नागरिक शान्तिको पक्षमा रहेको र विश्वसमुदाय आतङ्कवादको विरोधमा उभिएको अवस्थामा पाकिस्तान सरकार र सेनाले गम्भीर ध्यान दिनुपर्ने बताए।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार भएको भेटबारे जानकारी दिँदै राजदूत श्रीवास्तवले प्रधानमन्त्रीले आतङ्कवादविरुद्ध दृढता प्रकट गर्दै नेपालको भूमि आतङ्ककारी प्रयोजनका लागि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको बताए।
उनले भारतका संवेदनशील क्षेत्रमा सुरक्षा कडाइ गरिएको भए पनि नेपालतर्फको आपूर्तिमा कुनै समस्या नआउने बताउँदै पेट्रोलियमसहित सबै सामग्री सहज रूपमा आपूर्ति गरिने आश्वासन दिए। यसै सन्दर्भमा सीमा क्षेत्रमा दुवै देशले घुसपैठ र अवाञ्छित गतिविधि नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा सहभागी सम्पादकहरूसँग संवाद गर्दै श्रीवास्तवले यथार्थ समाचार सम्प्रेषणका लागि भारतीय राज्यका आधिकारिक स्रोतलाई आधार बनाउन आग्रह गरे। साथै, आतङ्कवादको असर केवल भारत र पाकिस्तानमा सीमित नभई समग्र सार्क क्षेत्र र विश्वमै पर्ने भएकाले शान्तिका पक्षमा अन्तरराष्ट्रिय एकता आवश्यक रहेको उनले बताए।