

काठमाडौं । रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत ललितपुरको लगनखेलस्थित थतिटोलमा शुक्रबार परम्परागत रूपमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ।
रथ लगनखेल पुगेपछि रथ निर्माणमा संलग्न ज्येष्ठ व्यक्तिद्वारा रथको टुप्पोबाट नरिवल खसाल्ने परम्परा रहिआएको छ। यो दिन पाटनवासीहरूका लागि विशेष उत्सवको रूपमा मनाइन्छ। जनविश्वास अनुसार, रथमाथिबाट खसालिएको नरिवल समात्ने व्यक्तिको पहिलो सन्तान छोरा हुने मान्यता रहेको छ।
नरिवल खसालिएको भोलिपल्ट बिहान महिलाहरूले रथ तान्ने परम्परा रहिआएको छ। त्यसपछि केही दिनभित्र मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसेर ज्योतिषहरूले मच्छिन्द्रनाथलाई जावलाखेल लैजाने साइत निकाल्ने गर्छन्।
रथ जावलाखेल पुगेपछि चार दिनभित्र ऐतिहासिक भोटो जात्रा मनाइन्छ, जसपछिमात्र रातो मच्छिन्द्रनाथको जात्रा औपचारिक रूपमा सम्पन्न हुन्छ।