

काठमाडौँ । भारत–पाकिस्तानबीच चुलिँदो तनावका कारण पाकिस्तानमा रहेका नेपाली विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ।
शुक्रबार जारी विज्ञप्तिमा मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली नागरिक, विशेषतः विद्यार्थीहरूको सुरक्षा र हितप्रति नेपाल सरकार पूर्ण रूपमा सजग रहेको उल्लेख गरेको छ। मन्त्रालयका अनुसार इस्लामावादस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही आवश्यक सहयोग गरिरहेको छ।
‘यदि तत्काल थप सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी, अभिभावक वा अन्य सम्बन्धित व्यक्तिले जुनसुकै बेला दूतावासको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नेछन्,’ विज्ञप्तिमा उल्लेख छ। परराष्ट्र मन्त्रालयले दूतावासका वृन्दा सुवेदी खड्का र आर्सलान मेहमुदलाई सम्पर्क व्यक्ति तोकेको जानकारी पनि दिएको छ।
भारतको पहलगाम क्षेत्रमा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएपछि भारतले प्रतिकारात्मक कारबाही थालेको र पाकिस्तानले पनि जवाफी प्रतिक्रिया दिँदै तनाव झनै बढेको पृष्ठभूमिमा मन्त्रालयले उक्त आग्रह गरेको हो।
यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमार्फत सरकारको ध्यानाकर्षण गराउँदै पाकिस्तानमा सम्पर्कमा रहेका करिब ८० नेपाली विद्यार्थीको यथाशीघ्र उद्धारको माग गरेको छ। साथै, भारत–पाकिस्तान सीमावर्ती क्षेत्रमा रहेका अन्य नेपाली विद्यार्थीहरू पनि सुरक्षित उद्धारको प्रतीक्षामा छन्।
