

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता गरेका छन् ।
भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणपछिको भारत–पाकिस्तानबीचको पछिल्लो तनावबारे राजदूत श्रीवास्तवले जानकारी गराएका हुन् । राजदूत श्रीवास्तवले भारतले उक्त हमलापछि जवाफी कारबाही गरेको भए पनि जेट हमला गरिएको भन्ने प्रचार असत्य भएको स्पष्ट पारेका थिए । साथै, उनले घटनाप्रति नेपाल सरकारको सार्वजनिक वक्तव्यबापत धन्यवादसमेत व्यक्त गरेका छन् ।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै आतङ्कवादविरुद्ध नेपालको स्पष्ट र कठोर अडान रहेको दोहोर्याए । प्रधानमन्त्री ओलीले नेपालले कुनै पनि द्वन्द्वरत पक्षलाई छिमेकी राष्ट्रविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट धारणा व्यक्त गरेका थिए ।