न्यायमा आमनागरिकको सहज पहुँच र छिटो न्याय आवश्यक : राष्ट्रपति पौडेल

न्यायमा आमनागरिकको सहज पहुँच र छिटो न्याय आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छिटोछरितो न्याय सम्पादन र आमनागरिकको न्यायमा सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले शुक्रबार आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले संविधानको मर्मअनुसार नयाँ कानुन निर्माण र प्रचलित कानुनमा सुधार आवश्यक रहेको बताएका हुन् । “आधुनिक पद्धति र प्रविधिको प्रयोगमार्फत न्यायमा पहुँच सुनिश्चित गर्नुपर्छ,” उनले भने, “मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादनमा जोड दिनुपर्छ ।”

उनले विधिको शासन कायम राख्न र न्यायिक मूल्य–मान्यताको क्षयीकरण रोक्न न्यायालयप्रति जनआस्था बढाउनु पर्ने बताए । “न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चितताका लागि कानुन दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा दिन सकोस्,” राष्ट्रपति पौडेलको शुभकामना सन्देश थियो ।

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, स्वतन्त्र र सक्षम न्यायपालिकाको परिकल्पना गरेको उल्लेख गर्दै उनले कार्यकारिणी, विधायिका र न्यायपालिका पृथक तथा स्वतन्त्र रहनु लोकतान्त्रिक मूल्य हो भने ।

कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।