

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँगको एकता चाँडै हुने बताएकी छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले जनमत पार्टीका अध्यक्ष सीके राउतको व्यस्तताका कारण एकतामा केही ढिलाइ भएको जानकारी दिइन् ।
उनका अनुसार, राउत पार्टीको पूर्वनिर्धारित कार्यक्रमका लागि काठमाडौं बाहिर रहेका छन् । उनी काठमाडौं फर्किएपछि दुबै पार्टीबीच छलफल गरी एकता गर्ने मिति तय गरिनेछ ।
रेशम चौधरी पक्राउ प्रकरणमा गृहमन्त्रीले संसद्मा दिएको जवाफ सन्तोषजनक रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले हालका अवस्थामा सरकारबाट बाहिरिने कुनै योजना नरहेको स्पष्ट पारिन् ।
यसअघि नागरिक उन्मुक्ति पार्टीले गृहमन्त्रीको स्पष्ट जवाफ नआए सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएको थियो ।