काठमाडाैँ, २५ भदाै । भारत र अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय क्रिकेट शृंखला खेल्न १९ वर्षमुनिको नेपाली क्रिकेट टोली आज भारतकाे लखनउ जाँदैछ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईको निमन्त्रणामा हुन लागेको शृंखलामा भारतका टोलीसहित अफगानस्तान र नेपालले खेल्नेछन् ।
मोहमद आसिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीमा तृतराज दास, ऋत गौतम, पवन सर्राफ, किशोर महतो, रशिद खान, भीम सार्की कमलसिंह ऐरी र सन्दीप जोरा, रवी साह, विपिन बराल, लोकेश बम, सागर ढकाल, अरुण ऐरी र मोहम्मद सम्साद आलम छन् ।
खेलाडीसँगै प्रशिक्षक विनोद दास, सहायक प्रशिक्षक मनोज कटुवाल र टिम म्यानेजरका रुपमा शक्ति गौचन पनि लखनउ जानेछन् । नेपालले पहिलो खेलमा बुधबार भारतको १९ वर्षमुनिको बी टिमसँग खेल्नेछ भने विहीबार भारतको १९ वर्ष मुनिको ए टिमसँग र सेप्टेम्बर १६ तारिखमा अफगानस्तानको टिमसँग खेल्नेछ ।
शृंखलामा चारवटै टिमले एक अर्कासँग खेल्नेछन् । शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । युवा टोलीको क्षमता विकासको लागि भारतले बर्सेनि आयोजना गर्ने शृंखलाका लागि यसपटक नेपाली टोलीलाई अवसर दिएको हो ।