राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : देउवा

राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएका छन्।

शुक्रबार बिहान बूढानीलकण्ठस्थित देउवा निवासमा बसेको पार्टी पदाधिकारी बैठकमा नेताहरूले गभर्नर नियुक्तिमा भएको ढिलाइप्रति जिज्ञासा राखेपछि सभापति देउवाले चाँडै टुंगो लाग्ने जानकारी गराएका हुन्।

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार सभापतिले “राष्ट्र बैंकको नेतृत्व प्रोफेसनल र व्यवसायिक व्यक्तिको हातमा जानुपर्छ। सहमतिबाट निर्णय हुन्छ” भन्ने धारणा राखेका थिए।

कांग्रेस र एमालेबीच सहमति नजुटेकै कारण गभर्नर नियुक्ति प्रक्रिया अड्किएको हो।

बैठकमा संवैधानिक आयोगमा पदपूर्तिको आवश्यकता र सरकारको ध्यानाकर्षण गराउने विषयमा पनि छलफल भएको प्रवक्ता महतले जानकारी दिए। यस्तै, transitional justice (टीआरसी) प्रक्रिया टुंग्याउन र शिक्षा विधेयकमाथि समेत गम्भीर छलफल भएको उनको भनाइ छ।