महिला टी-२० विश्वकप एशिया छनोट : नेपालले हङकङसँग खेल्दै

महिला टी-२० विश्वकप एशिया छनोट : नेपालले हङकङसँग खेल्दै

काठमाडौं । महिला टी-२० विश्वकप २०२६ को एशिया छनोट अन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान पौने ९ बजे सुरु हुने खेलमा नेपालले समूह ‘सी’ अन्तर्गत आफ्नो पहिलो खेल खेल्नेछ। समूह ‘सी’ मा नेपालसँगै हङकङ र बहराइन रहेका छन्।

एशिया छनोटमा नेपालसहित थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ। तीन समूहमा विभाजन गरिएका टोलीहरूले समूह चरणमा एकअर्कासँग दुईपटक खेल्नेछन्। समूह विजेता टोलीहरूले सुपर थ्री चरणमा स्थान बनाउनेछन् भने सो चरणको शीर्ष दुई टोलीले ग्लोबल छनोटमा पुग्नेछन्।

नेपाल र हङकङबीच भएको पछिल्लो पाँच टी-२० खेलमध्ये नेपालले दुई जित निकाल्दा हङकङले पनि दुई जित दर्ता गरेको छ। एक खेल भने वर्षाका कारण रद्द भएको थियो।