

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि प्रहरीले पक्राउको ४२ औं दिनमा तेस्रो अभियोग थप गरेको छ। चैत १५ गतेको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि यसअघि राज्य विप्लव र संगठित अपराधका आरोप लागिरहेका थिए भने अब ‘आपराधिक उपद्रव’ को नयाँ अभियोगसमेत थपिएको हो।
बयान सकिइसकेका र ठोस प्रमाण नपाइएको भनिँदै मिश्रको रिहाइको माग तीव्र भइरहँदा प्रहरीले हिरासत लम्ब्याउन नयाँ अभियोग थपेको आरोप लागेको छ। यसैबीच, काठमाडौं जिल्ला अदालतले मिश्रसहित २४ जनालाई सातौँ पटक थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
तेस्रो अभियोग थपिएको विषयमा मिश्र अदालतमै आक्रोशित देखिए। इजलासमा उपस्थित हुँदै उनले भने, “४१ दिनसम्म राज्यविरुद्धको कसुर र संगठित अपराधको टिका बोकेर हिँडेको थिएँ, आज फेरि तेस्रो कालो टिका लगाइयो। त्यो टिका पुछ्ने अधिकार न्यायालय र बेञ्चसँग छ।”
उक्त मुद्दामा मिश्रसँगै अभियुक्त रहेका अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी छ भने मिश्रको हिरासत अझै लम्बिने संकेत देखिएको छ।