भारत–पाकिस्तानबीच ड्रोन र मिसाइलमार्फत आक्रमणको आरोप–प्रत्यारोप, १६ को ज्यान गएको भारतको दाबी

भारत–पाकिस्तानबीच ड्रोन र मिसाइलमार्फत आक्रमणको आरोप–प्रत्यारोप, १६ को ज्यान गएको भारतको दाबी

काठमाडौं । भारत र पाकिस्तानबीच फेरि तनाव चुलिएको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानले बुधबार राति ड्रोन र मिसाइलमार्फत उत्तरी र पश्चिमी भारतका कैयौं सैन्य अड्डाहरूमा आक्रमणको प्रयास गरेको दाबी गरेको छ।

मन्त्रालयका अनुसार श्रीनगर, जम्मू, पठानकोट, चण्डीगढ, अमृतसर, लुधियाना, फलोदी लगायतका सैन्य अड्डाहरूलाई निशाना बनाइएको थियो। भारतले ती सबै आक्रमणहरू आफ्नो वायु रक्षा प्रणाली र ‘एकीकृत काउन्टर यूएएस ग्रिड’ प्रयोग गरी निष्क्रिय पारिएको जनाएको छ।

पाकिस्तानी ड्रोनका भग्नावशेषहरू भेटिएको दाबी गर्दै भारतले यसलाई पाकिस्तानको संलग्नताको प्रमाण मानेको छ। भारतले पनि जवाफी कारबाहीमा पाकिस्तानको लाहोरमा रहेको वायु रक्षा प्रणाली नष्ट गरेको दाबी गरेको छ।

दोस्रो पक्ष पाकिस्तानले पनि भारतमाथि आरोप लगाएको छ। पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले मे ७ को रातदेखि भारतले ड्रोनमार्फत घुसपैठको प्रयास गरिरहेको बताए। पाकिस्तानले २५ वटा भारतीय ड्रोन खसालेको र ती लाहोर, कराँची, रावलपिंडी लगायतका सहरहरूमा नष्ट गरिएको दाबी गरेको छ।

यसैबीच, भारतको रक्षा मन्त्रालयले पाकिस्तानले जम्मु कश्मीरको कुपवाडा, उरी, पुंछ, र राजौरी सेक्टरहरूमा मोर्टार र तोप प्रयोग गरी आक्रमण गरेको जनाएको छ। उक्त गोलाबारीमा १६ जना निर्दोष सर्वसाधारण—तीन महिला र पाँच बालबालिकासहित—को मृत्यु भएको दाबी गरिएको छ।

दुवै मुलुकले गरिरहेका आ–आफ्ना दाबीहरूलाई स्वतन्त्र रूपमा पुष्टि भने गर्न सकिएको छैन। तनाव अझ चुलिन सक्ने अनुमान भइरहेका बेला भारतले आफ्ना सैन्य अड्डामा हुने कुनै पनि आक्रमणको उचित जवाफ दिने चेतावनीसमेत दिएको छ।