

काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मको संरक्षणका लागि जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन सुरु हुने घोषणा गरिएको छ।
राजसंस्था पुनर्स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेका हुन्। उनले आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने र यसको स्वरूप भद्र अवज्ञा तथा सत्याग्रहमा आधारित हुने जानकारी दिए।
“हाम्रो आन्दोलन सत्ता वा सरकारको विरोधमा होइन,” सुवेदीले भने, “व्यवस्थागत परिवर्तन र सनातन मूल्य–मान्यताको संरक्षणका लागि हो।”
उनका अनुसार आन्दोलनको मुख्य उद्देश्य राजसंस्थाको पुनर्स्थापना गर्नुका साथै हिन्दु राष्ट्रको पहिचान जोगाउनु हो। समितिले आगामी दिनमा देशव्यापी कार्यक्रमसहित दबाबमूलक गतिविधिहरू सञ्चालन गर्ने तयारी गरेको बताइएको छ।