तीनकुनेमा तीनवटा गाडी जुध्दा १ को मृत्यु, ३ जना घाइते

तीनकुनेमा तीनवटा गाडी जुध्दा १ को मृत्यु, ३ जना घाइते

काठमाडौं । राजधानीको तीनकुनेमा बिहीबार बिहान तीन सवारीसाधन एकआपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दुर्घटनामा ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

बिहीबार बिहान ६:३५ बजे काठमाडौं–३२ तीनकुनेस्थित सडकमा बा ३ ख ७०६२ नम्बरको बस, बा.प्र. ०१–०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र. ०२–३८४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

बसले सुरुमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेकी तामाङ गम्भीर घाइते भएकी थिइन्। मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यान चालक ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार २४ वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन्।

घाइतेमध्ये एकको ट्रमा सेन्टरमा र दुई जनाको उपचार कान्तिपुर अस्पतालमा भइरहेको छ।