

काठमाडाैं : बुधबार नेप्से परिसूचक ६२.२५ अंकले उकालो लागेर २६७३.६९ विन्दुमा पुगेको छ। यसअघि फागुन १८ गते नेप्से ७५ अंकले उक्लिएको थियो। त्यसयता यति ठूलो वृद्धि बुधबार देखिएको हो।
यसदिन सेयर कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ। मंगलबार ८ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार कारोबार १० अर्ब ५१ करोड रुपैयाँमा पुगेको छ। मात्र जलविद्युत कम्पनीहरूको कारोबार नै ७ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७७ करोड रुपैयाँले वृद्धि भएको हो।
बुधबार ३०८ वटा धितोपत्रको दुई करोड ७२ लाख ४५ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएको छ। कुल २२७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको र एकको स्थिर रहेको छ। पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा पुगेको छ — जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स १० प्रतिशतले, बुटवल पावर कम्पनी र ओम मेगाश्री फर्मास्युटिकल्स ९.९९ प्रतिशतले तथा पिपुल्स हाइड्रोपावर ९.९८ प्रतिशतले बढेका हुन्।
त्यसैगरी न्यादी हाइड्रोपावरको मूल्य ४.४३ प्रतिशतले घटेर प्रतिकित्ता ४८५ रुपैयाँ २० पैसामा झरेको छ भने लक्ष्मी भ्यालु फण्डको मूल्य ३.०२ प्रतिशतले घटेर ९ रुपैयाँ ६५ पैसा कायम भएको छ।
सबैभन्दा धेरै कारोबार सानिमा माइ हाइड्रोपावरको भएको छ, जसको प्रतिकित्ता ६३० रुपैयाँ ५० पैसामा ५९ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो। दोस्रो स्थानमा ङादी ग्रुप पावर रहेको छ, जसको ५४ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ।
बुधबार कारोबार भएका १३ वटै समूहगत परिसूचक बढेका छन्। तीमध्ये वित्त समूहको परिसूचक सबैभन्दा धेरै ५.५५ प्रतिशतले बढेको हो।