

पोखरा : राष्ट्रिय युवा संघ नेपाल पर्वतमा अधिवेशन गर्ने वा नगर्ने विषयमा उत्पन्न विवादले झडपको रुप लिँदा एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल घाइते भएका छन्।
एमाले पर्वत जिल्ला कार्यालयमा भएको बैठकमा एक पक्ष अधिवेशन रोक्नुपर्ने पक्षमा थियो भने अर्को पक्ष जसरी पनि गर्नुपर्ने अडानमा अडिएको थियो। केन्द्रीय सदस्य पौडेल, जिल्ला अध्यक्ष विनोद थापा, सचिव प्रकाश थकाली अधिवेशन रोक्नुपर्ने पक्षमा थिए।
पार्टी इन्चार्ज गोविन्द गिरीको पहलमा पुनः बोलाइएको भेलामा कार्यक्रम नगर्ने अडान लिएपछि पौडेलमाथि आक्रमण भएको हो। उनी उपचारका लागि अस्पताल भर्ना गरिएका छन्।
केन्द्रीय सचिव पर्वत भण्डारीका अनुसार पोखरामा जेठ ९ देखि ११ गतेसम्म महाधिवेशन हुने तय भइसकेको छ। त्यसअघि जिल्ला कमिटी तथा प्रतिनिधि छनोट गर्नुपर्ने भन्दै केन्द्रको निर्देशनमा आयोजक कमिटी गठन गर्न बैठक बोलाइएको थियो।
युवा संघ जिल्ला अध्यक्ष थापाले कार्यक्रम बहिष्कार गरेका छन् भने अर्काे पक्ष कार्यक्रम गरिरहेकाे जनाएको छ। अध्यक्ष गिरीले कार्यक्रम विस्तारित बैठक मात्र भएको र सामान्य विवाद भएको बताएका छन्। तर अर्काे समूहले भने अधिवेशनको नाममा विधि मिचिएको र आक्रमण सुनियोजित भएको दाबी गरेका छन्। प्रदेशसभा सदस्य भक्त कुँवरका अनुसार असहमतिपछि कार्यक्रम गरिँदा झडप उत्पन्न भएको हो।