सांसद एनपी साउदद्वारा पाकिस्तानी सैनिक टोलीको भ्रमणको समयप्रति असन्तुष्टि

सांसद एनपी साउदद्वारा पाकिस्तानी सैनिक टोलीको भ्रमणको समयप्रति असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री एनपी साउदले पाकिस्तानका उच्चस्तरीय सैन्य प्रतिनिधिमण्डलको नेपाल भ्रमणको समयप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साउदले भारत र पाकिस्तानबीच चर्किएको परिस्थिति र पछिल्लो आतंककारी घटनालाई सरकारले बेवास्ता गरेको आरोप लगाए। उनले भने, “छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैन्य टोली नेपाल आएको देखिन्छ। भ्रमण पूर्वनिर्धारित भए पनि कूटनीतिक संवेदनशीलता अपनाउँदै तत्कालका लागि स्थगन गर्नु उचित हुनेथियो।”

सांसद साउदले भारतको जम्मु–कश्मीरस्थित पहलगाममा वैशाख ९ गते भएको आतंककारी आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको स्मरण गराउँदै, यस्ता विश्वव्यापी घटनाबाट नेपाली पनि अछुतो नरहने बताए।

उनले सरकारलाई कूटनीतिक चातुर्यका साथ संवेदनशील विषयमा निर्णय लिन आग्रह गरे।