

न्युयोर्क । चर्चित गायिका रिहानाले मेट गाला २०२५ मा आफ्नो तेस्रो सन्तानको घोषणा गर्दै सबैलाई चकित पारेकी छन्। मे ५ मा न्यूयोर्कमा आयोजित मेट गालाको रेड कार्पेटमा पार्टनर एएपी रकीसँग प्रस्तुत भएकी रिहानाले आफ्नो बेबी बम्प सार्वजनिक गरिन्, जसपछि उनका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
३७ वर्षीया रिहानाले कार्यक्रममा ग्रे रंगको टु पीस आउटफिटमा गर्भावस्थालाई स्टाइलिश तरिकाले प्रस्तुत गरिन्। कालो ज्याकेट, फर चोरी, खैरो पम्प र कालो टोपीको संयोजनमा उनी झनै आकर्षक देखिएकी थिइन्। पछि उनले दुई सूट ज्याकेटसहितको लुक प्रस्तुत गरेकी थिइन्, जसले उनको बेबी बम्पलाई अझ प्रस्ट पार्यो।
यो लुक मेट गालाको ‘सुपरफाइनः टेलरिङ ब्ल्याक स्टाइल’ थिमसँग मेल खाने खालको थियो। फोटोग्राफर माइल्स डिग्सले कार्यक्रम सकिनुअघि नै रिहानाको बेबी बम्पसहितको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए, जुन निकै रुचाइएको छ।
रिहानाले यसअघि पनि २०२३ को सुपर बाउल हाफटाइम शोमा दोस्रो गर्भावस्थाको घोषणा गरेकी थिइन्। सन् २०२० देखि सँगै रहेका रिहाना र रकी पहिलो पटक २०२१ को मेट गालामा जोडीका रूपमा देखिएका थिए।
रिहानाको शैली, आत्मविश्वास र मातृत्वको संयोजनले फेरि एक पटक उनलाई ‘फेसन क्वीन’को रूपमा स्थापित गरिदिएको छ। अब उनका प्रशंसकहरू उनी कहिले तेस्रो सन्तानलाई जन्म दिन्छिन् भन्ने कुराको प्रतिक्षामा छन्।