भारतीय आक्रमण: २ बालबालिकासहित ७ पाकिस्तानीको मृत्यु, ३५ जना घाइते

भारतीय आक्रमण: २ बालबालिकासहित ७ पाकिस्तानीको मृत्यु, ३५ जना घाइते

काठमाडौं । भारतले गएराति गरेको हवाई आक्रमणमा पाकिस्तानमा दुई बालबालिकासहित सात जनाको ज्यान गएको बीबीसीले जनाएको छ। पाकिस्तान आर्मी इन्टर-सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरूले अहिलेसम्म ३५ जना घाइते भएको जनाएका छन्।

भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा हवाई हमला गरिएको बताएको छ। तर, पाकिस्तानी सेनाले भने तीन स्थानमा मात्रै आक्रमण भएको दाबी गरेको छ।

ठूला विस्फोटको आवाजले आफूहरू स्तब्ध बनेको मुजफ्फराबादका बासिन्दाहरूले बताएका छन्। भारतले यो आक्रमण पहलगाममा पर्यटकहरूमाथि भएको आतंककारी आक्रमणको प्रतिशोधस्वरूप गरिएको जनाएको छ।

उक्त हमलाको जिम्मेवारी पाकिस्तानमाथि लगाउँदै आएको भारतले घटनामा एक नेपालीसहित २६ जनाको ज्यान गएको जनाएको थियो।

गत महिना कश्मीरमा भएको उक्त आतंकी घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिँदै गएको छ। दुवै देशले कश्मीरमाथि पूर्ण दाबी गर्दै आएका छन्, र अहिलेको परिस्थिति आणविक हतियारयुक्त दुई छिमेकी राष्ट्रहरूबीच द्वन्द्वको खतरा बढाएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले जनाएका छन्।