

काठमाडौं । आज १०औं राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रमका बीच मनाइँदैछ। गोरखापत्र प्रकाशनको १२५औं वर्ष र संस्थानको ६३औं वार्षिकोत्सवको अवसरमा वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसको रूपमा मनाउने परिपाटी रहेको छ।
सरकारले २०७३ सालमा पत्रकारिता दिवसलाई राष्ट्रिय रूपमा मनाउन मान्यता दिएपछि यो दिवस प्रत्येक वर्ष वैशाख २४ गते मनाउन थालिएको हो। गोरखापत्रको प्रकाशन विसं १९५८ वैशाख २४ गतेबाट साप्ताहिक रुपमा शुरु भएको थियो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव र प्रवक्ता गजेन्द्रकुमार ठाकुरले पत्रकारिता दिवसले पत्रकारिता क्षेत्रलाई प्रोत्साहन दिने र जिम्मेवार पत्रकारिताको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेर राज्यले कदर गरेको बताए।
‘विश्वसनीय सूचनाको आधार: जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरिनेछ। यस अवसरमा, संचार तथा सूचना प्रविधि मन्त्रालयले विशेष समारोहको आयोजना गर्नेछ, जसमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई पुरस्कार र सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ।
यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानमा दुई जना वरिष्ठ पत्रकारलाई रु दुई लाख र कदरपत्रसहित सम्मान प्रदान गरिनेछ भने छ जनालाई एक लाख र कदरपत्रसहित राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ।
गोरखापत्र संस्थानले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रियसभा गृहमा विशेष कार्यक्रमको आयोजना गर्नेछ, जसमा ‘गोरखापत्र’ प्रकाशनको १२५औं वर्षको उत्सव मनाइने छ।