पाँच दिनपछि सेयरबजारमा हरियाली

पाँच दिनपछि सेयरबजारमा हरियाली

काठमाडौं । पाँच दिनसम्मको लगातार गिरावटपछि सेयर बजार मंगलबार हरियो भएको छ। बजार खुलेदेखि नै ओरालो लागेको नेप्से सूचक आज २६०८ अंकमा समर्थन पाउँदै थोरै अंकले उकालो लागेको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ३.४३ अंकले वृद्धि भई २६११.४३ अंकमा बन्द भयो। सूचक सामान्य मात्रामा बढे पनि सेयर कारोबार रकममा करिब एक अर्ब रुपैयाँको सुधार देखिएको छ। सोमबार ७ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ८ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको छ।

सूचकको सामान्य सुधारसँगै १२० कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ। हालै सूचीकृत भएका कम्पनीहरू सर्किट लेभलमा पुगेका छन् भने अन्य कम्पनीहरूको मूल्यमा पनि केही सुधार आएको छ। नेपाल माइक्रोफाइनान्स, क्रेष्ट माइक्रोफाइनान्स, र ओम मेगाश्री फार्माका सेयरहरू सकारात्मक सर्किटमा पुगेका छन्। रिडी पावर कम्पनी ९.६० प्रतिशत र बुटवल पावर कम्पनी ७.१९ प्रतिशत वृद्धि भएर चौथो र पाँचौँ स्थानमा सबैभन्दा धेरै कमाउने सूचीमा परेका छन्।

तर बजारमा उतारचढाव कायमै रहेको देखिएको छ। मंगलबार १२६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। वीन लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको छ भने हिमालयन पावर र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ५ प्रतिशतले घटेर सर्वाधिक गुमाउने कम्पनी बनेका छन्।

दिनभरको व्यापारमा चाप बढे पनि नेप्सेमा अपेक्षित सुधार भने देखिएन। तर लगानीकर्ताको सहभागिता बढेसँगै कारोबार रकममा उल्लेखनीय वृद्धि भएको छ। मंगलबार लगानीकर्ताले सबैभन्दा धेरै कारोबार सानिमा माइ हाइड्रोको गरेका छन्, जसको कारोबार ९२ करोड रुपैयाँ पुगेको छ।