

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले स्रोत नखुलेको सम्पत्ति जफत गर्न सक्ने साहस सरकारमा हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै गुरुङले छानबिन आयोग गठन गरी नेतादेखि कर्मचारीसम्मको सम्पत्तिको स्रोत पत्ता लगाउने र स्रोत नखुलेमा जफत गर्नुपर्ने धारणा व्यक्त गरे।
“गणतन्त्र सुदृढ गर्न स्रोत नखुलेको सम्पत्ति जफत गर्नुपर्ने हो। छानबिन आयोग गठन गरेर यस्तो सम्पत्तिमाथि कडा कदम चाल्नुपर्छ,” गुरुङले भने, “यसले नै मुलुकमा शुद्ध शासन व्यवस्था ल्याउन सहयोग पुर्याउँछ।”
उनले गाउँगाउँमा भवन बनाउने कामलाई मात्र समृद्धिको मापक बनाउन नमिल्ने भन्दै अबको नीति उत्पादनशील क्षेत्रमा केन्द्रित हुनुपर्ने बताए।
करको दायरा विस्तार गर्नुपर्ने उल्लेख गर्दै उनले कर तिर्नुपर्नेभन्दा बढी कर नथोप्रन सरकारलाई सुझाव दिए।
गुरुङले सामाजिक सुरक्षा भत्ता आवश्यक नभएकालाई पनि दिइएकोमा असन्तुष्टि जनाउँदै त्यसमा सुधार गर्नुपर्ने बताए।