

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे गृहमन्त्री रमेश लेखकले बिहीबार संघीय संसदमा जानकारी गराउने भएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा नाउपाका सांसदहरूले चौधरीको पक्राउबारे सरकारको स्पष्ट जवाफ माग गर्दै सदन अवरुद्ध गर्न खोजेका थिए। उनीहरूले सभामुखबाट रुलिङको माग गरेका थिए।
सो क्रममा सभामुख देवराज घिमिरेले गृहमन्त्री लेखकले संसदमा जानकारी दिने व्यवस्था मिलाउने बताएका थिए। घिमिरेका अनुसार गृहमन्त्रीले वैशाख १९ गते बिहीबार आवश्यक जानकारी प्रस्तुत गर्नेछन्।
गएको वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण घोषणा गर्न प्रज्ञा भवन पुगेका बेला चौधरी पक्राउ परेका थिए। तर पछि सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी ठहरिएपछि उनी छुटेका थिए। चौधरीले त्यसक्रममा झन्डै पाँच घण्टा डिल्लीबजार कारागारमा बिताएका थिए।