

काठमाडौं। संघीय संसद्को दुवै सदनको बैठक आज पनि बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि तय गरिएको छ भने राष्ट्रियसभाको बैठक सवा १२ बजे बोलाइएको छ।
दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ का लागि राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई आज पनि निरन्तरता दिइने संसद् सचिवालयले जनाएको छ।
राष्ट्रियसभाको बैठकमा आज नीति तथा कार्यक्रममाथिको छलफल समाप्त गरी सुझाव दिने कार्यसूची तय गरिएको छ। सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची समेत रहेको छ।
यसैबीच, प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि हालसम्म ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। संशोधनसहितको छलफल सोमबारदेखि नै सुरु भइसकेको छ। सांसदहरूले प्रस्तुत नीति तथा कार्यक्रमले वर्तमान समस्या समाधान गर्न नसकेको र भविष्यप्रतिको स्पष्ट दृष्टिकोण नबोकेको आलोचना गरेका छन्।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री ओलीले वैशाख २८ गते दिने कार्यक्रम तय गरिएको छ।