९.६२ अंकले घट्यो सेयर बजार

९.६२ अंकले घट्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ९.६२ अंकले घट्दै २६१०.७६ अंकमा झरेको छ। आइतबार २६२०.३८ अंकमा बन्द भएको नेप्से लगातार दोस्रो दिन गिरावटमा गएको हो।

सिर्फ सूचक मात्र होइन, सेयर बजारको कारोबार रकम पनि घटेको छ। आइतबार ९ अर्ब २४ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार कारोबार ७ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त हुन नसकेको पृष्ठभूमिमा लगानीकर्ताहरू ‘पर्ख र हेर’को रणनीतिमा देखिएको संकेत बजारको मन्दीले दिएको विश्लेषकहरू बताउँछन्।

नेप्सेका उपसूचकमध्ये व्यापार समूह सबैभन्दा बढी प्रभावित भयो, जसको उपसूचक ५१ अंक (१.१३ प्रतिशत) ले घट्यो। फाइनान्स र उत्पादनमूलक समूह पनि करिब १ प्रतिशतले ओरालो लागे।

यद्यपि, लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहमा सामान्य वृद्धि देखिएको छ। नेपाल माइक्रोइन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स, सिटिजन सुपर ३० म्युचुअल फन्ड, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, र मकर जितुमाया सुरी हाइड्रोका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।

अर्कोतर्फ, हिमालयन पावर पार्टनरको सेयर मूल्यमा १० प्रतिशतको भारी गिरावट आएको छ। उच्च कारोबार हुने कम्पनीहरूको सूचीमा सोमबार पनि जलविद्युत् समूहकै ङादी ग्रुप पावर, युनिभर्सल पावर र राधी विद्युत् कम्पनी अग्रस्थानमा रहे।