

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली विद्यार्थी प्रिसा साहको घटनाबारे भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन (रुलिङ) दिएका छन्।
सांसदहरूले सोमबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा उक्त घटना उठाएपछि सभामुख घिमिरेले उक्त रुलिङ दिएका हुन्। उनले घटनालाई गम्भीर बताउँदै सत्यतथ्य छानबिनका लागि भारत सरकारसँग संवाद आवश्यक रहेको जनाए।
‘उज्यालो भविष्यको सपना बोकेर विदेशिएका विद्यार्थीहरूको रहस्यमय मृत्यु राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न हो,’ सभामुख घिमिरेले भने।
उनले सरकारलाई सत्यतथ्य पत्ता लगाउन तदारुकता देखाउन र पीडित परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न आग्रह गरे। साथै, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि दीर्घकालीन नीतिगत पहल आवश्यक रहेकोमा पनि सभामुख घिमिरेले जोड दिएका छन्।